गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पती
कञ्चनपुर- ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उनकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त छन् । यतिबेला उनीहरू छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहेका छन् ।
बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उनीहरू परिवारको आर्थिक अवस्था नाजुक भएपछि आफूले सृजना गरेका गीत गाउँदै आर्थिक सङ्कलनमा जुटेका छन् । बाँसुरी, सारङ्गी र मादलको धुनमा सुमधुर गीत गाउँदै गाउँ सहर डुलेर आर्थिक सङ्कलन गरेर परिवारको गुजारा चलिरहेको छ ।
'घरमा कमाउने कोही छैन । भएकै खेतमा बाली लगाउन पनि खेतालाको भर पर्नुपर्छ । खान लाउन र छोराछोरीलाई पढाउन पैसा अभाव छ । त्यसकै लागि खर्च जोहो गर्न आर्थिक सङ्कलन गरिरहेका छौँ,' कञ्चनपुरको झलारीमा भेटिएका धनबहादुरले भने, 'दसैँतिहार र छोराछोरीको विद्यालयको बिदाको समय गाउँ सहर डुल्छौँ ।'
जन्मजातै न्यून दृष्टियुक्त धनबहादुरले केही गीत रेकर्ड पनि गराएका छन् । थुप्रै गीत सृजना गरे पनि आर्थिक अभावले रेकर्ड गराउन नसकेको उनले सुनाए । गीत रेकर्ड गर्न नसके पनि गाउँबस्तीमा आफूले सृजना गरेका गीत सुनाउने गरिरहेका छन् उनी । उनी कहिले माया पिरतीका गीत सुनाउँछन् त कहिले दुःख, सुख र व्यथाका ।
'अहिले अडियो मात्रै निकालेर भएन । भिडिओ पनि बनाउनुपर्छ । खर्च धेरै लाग्ने भएकाले बनाउन सकिएको छैन,' उनी भन्छन्, 'आफूलाई खान लाउनलाई त धौ धौ छ । कसरी गीत रेकर्ड गराउने ?'
गाउँबस्ती डुल्दै गीतमार्फत उनीहरू आफ्नो कथा व्यथा सुनाउँछन् । धनबहादुरका चार सन्तान छन् । तीमध्ये दुई छोरीको बिहे भइसकेको छ । हाल साथमै रहेका एउटी छोरी कक्षा १० र छोरा ८ मा अध्ययनरत छन् ।
'हामीहरूले आँखा देख्न सकेनौँ । छोराछोरी आँखा देख्छन् । शिक्षा दिएर उनीहरूलाई बाहिरी संसार देख्ने बनाउने सपना छ,' प्रमिलाले भनिन् । परिवारको आर्थिक अवस्था नाजुक भएपछि डेढ दशकदेखि ठाउँठाउँ डुलेर सहयोग सङ्कलन गरिरहेको उनको भनाइ छ । झलारी भेटिएका उनीहरू धनगढी हुँदै घरतिर जाने बताउँछन् ।
'छोराछोरीको विद्यालय पनि सुरु भइ सक्यो । अब घरतिर जान्छौँ,' धनबहादुरले भने, 'गीत गाउँदै देशका विभिन्न ठाउँ पुगिन्छ । सबैतिर माया गरेर सहयोग पाउँदा निकै खुसी लाग्छ ।' बाँसुरी, सारङ्गी, किबोर्ड, हार्मोनियम, मादललगायत वाद्ययन्त्र बजाउने गरेको उनी बताउँछन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया