समाज

जंगलको सार्वजनिक जग्गा व्यक्तिको नाममा, तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप

इकागज |
जेठ ६, २०८१ आइतबार १८:४२ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराईली र नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


गैरकानुनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल, बिमलबहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरी हक हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजातहरू कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले मालपोत र नापी प्रमुखसहित ८ जनाले २४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्‍याएको हुँदा निजहरू मोहन स्नेही रसाईली र अग्नीबहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्वेक्षक दशरथ मण्डल तथा जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल र बिमलबहादुर रावललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरू मतियारको कसुर पुष्टि भएको हुँदा चौबीस करोड छ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुनुपर्ने अख्तियारको दाबी छ ।


Author

थप समाचार
x