समाज

वैदेशिक रोजगारीमा विभिन्‍न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

इकागज |
जेठ ७, २०८१ सोमबार १६:३४ बजे

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिरहा, सिरहा नगरपालिका-२ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्‍वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौँ महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।   


पक्राउमध्ये धनेश्‍वरले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रुपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रुपैयाँ र भविन्द्रनाथले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले धनेश्‍वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौँ नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौँ महाराजगंजबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


Author

थप समाचार
x