'मुस्लिम समुदायका बालबालिका तथा युवाहरूको उत्थानका लागि इमामहरूको भूमिका महत्वपूर्ण'
काठमाडौँ- मुस्लिम समुदायका बालबालिका तथा युवाहरूको उत्थानका लागि इमाम (मुस्लिम समुदायका धर्मगुरु) हरूको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।
सोमबार ललितपुरमा आयोजित मुस्लिम समुदायका बालबालिका तथा युवाहरूको उत्थानका लागि इमामहरूको भूमिका विषय अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । नेपालका हरेक क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिहरूको सहभागिता ज्यादै न्यून रहेको हुँदा सहभागितामा वृद्धि गर्नका लागि मस्जिद र मदरसाका मौलाना तथा इमामहरूको भूमिका ठूलो रहने मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए । उनले मुस्लिम समुदायबाट प्रशासनिक र प्राविधिक क्षेत्र गरी मात्र दुई जना सहसचिवको रूपमा रहेको बताउँदै सो संख्यामा वृद्धि गर्दै लैजान आवश्यक रहेको जिकिर गरे ।
यस्तै राष्ट्रिय सभाका सदस्य मोहम्मद खालिद सिद्धिकीले मुस्लिम समुदाय राज्यका लागि कहिल्यै पनि समस्याको रूपमा नरहेको बताए । यसको श्रेय उनले मस्जिद र मदरसालाई जाने उल्लेख गर्दै जसले ऐन कानुनलाई सर्वोपरी ठानेर अघि बढ्छ ऊ कहिल्यै समस्याका रूपमा नरहने बताए । उनले भने, 'मुस्लिम समुदाय राज्यका लागि कहिल्यै पनि समस्याको रूपमा रहेन किनभने हाम्रा मस्जिद तथा मदरसामा नेपालको ऐन कानुनलाई मानेर अघि बढेको छ ।' सिद्धिकी मुस्लिम समुदायबाट हालको राष्ट्रिय सभामा रहेका एक मात्र व्यक्ति हुन् । उनले इमाम तथा मौलानाहरूले आफ्नो रीतिरिवाज तथा धर्म संस्कृतिबारे बालबालिका र नयाँ पुस्तालाई सूचित गराएर अघि बढ्नु पर्ने सुझाव दिए ।
मुस्लिम आयोगको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण प्लान इन्टरनेशनले गरेको थियो । सोही क्रममा प्लान इन्टरनेशनका कन्ट्री डाइरेक्टर राम किसनले यस्तो गम्भीर विषयमा सहजीकरण गर्न पाउँदा खुसी लागेको बताउँदै आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका इमाम तथा मौलानाहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया