पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग
श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा ४५ हजार बनाउनुपर्ने माग
काठमाडौँ- नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवं पद बमोजिम निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महंगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो । पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरू पेस गरेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले यस पटक आफूहरूले श्रेणी विहीन कर्मचारीको तलब कम्तीमा पनि ४५ हजार बनाउनुपर्ने माग राखेको धारणा राखे । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने उनले बताए ।
समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेका गुनासो गरे ।
साथै, निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरूले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ । आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरू निःशुल्क हुनुपर्ने बताए । सरकार निजामती कर्मचारीको ग्रेड वृद्धिको विषयमा पनि खुकुलो हुनुपर्ने अध्यक्ष पोखरेलको माग छ ।
अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया