समाज

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति

इकागज |
जेठ ८, २०८१ मंगलबार १७:४८ बजे

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले बिमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । 

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहेका बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उनले यस्तो बताएका हुन् । 


“हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गाँसिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा बिमस्टेक गम्भीर बनोस भन्ने मेरो आग्रह छ”, राष्ट्रपति  पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

उनले बिमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिए । 

राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरुबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताए । ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी बिमस्टेक क्षेत्रको साझा समृद्धिको महत्वकांक्षा पूरा गर्न  सहयोग पुर्याउने उच्च संभावना भएको क्षेत्रहरू भएको उनको भनाइ थियो । 

सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन बिमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि बिमस्टेकले काम गरिरहेको बताए । उनले संस्कृति, पर्यटन र भिसा सम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । 


Author

थप समाचार
x