समाज

सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षासम्बन्धी' तालिम

इकागज |
जेठ ८, २०८१ मंगलबार २१:२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सीप सिकाइएको थियो । 

कार्यक्रममा सहायक रथी किरण केसीले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सीप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरूलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राखे । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैर प्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताए । 


तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईका अनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो । यस्तै तेलजन्य आगो नियन्त्रणमा व्ल्याङ्केटको प्रयोग गर्ने तरिका, एलपी ग्याँसमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शब्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो । 

आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने वस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको वस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उनले बताए ।


Author

थप समाचार
x