समाज

धनुषा प्रहरीले देखेको यी ६ कारण र आधार : जसले पक्राउ परे कैलाश सिरोहिया

इकागज |
जेठ ९, २०८१ बुधबार ७:५६ बजे

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाटै प्रकाउ गरेर सिरोहियालाई राति नै धनुषा लगिएको हो ।

सिरोहियामाथि नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको आरोप छ ।


सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।  

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।

सिरोहियालाई पक्राउ गर्नुको ६ वटा कारण र आधार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनलेले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहू तेलीको नाममा जारी भएको देखिएको प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत नवराज खड्‌काले बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबुआमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता कितावमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अंगिकृत नेपाली भएको र नाम प्रष्ट नभएको) कैलास प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको निरीक्षक खड्‌काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सिरोहियाले वि.सं. २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको धनुषा प्रहरीले जनाएको छ । उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको जनाएको छ ।

सोही व्यहोराको उनले व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको उल्लेख छ ।

सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर उनलेले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको जनाएको छ ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले मंगलबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।

कान्तिपुरले केहि समय अघिदेखि सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो ।

र, यो पनि


Author

थप समाचार
x