सीमा नाकाको हेल्थ डेस्कका कर्मचारीले ६ महिनादेखि पाएनन् तलब
फाइल तस्बिर
कञ्चनपुर- नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’ मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।
पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’ समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । 'यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्,' उनले भने, 'माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ ।'
त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए । 'किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ,' जोशीले भने, 'केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ ।'
उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए । सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेँगीलगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया