समाज

तारकेश्वरको विद्यालयमा बुधबार मौलिक पहिचानको पोशाक अनिवार्य

इकागज |
जेठ १३, २०८१ आइतबार २२:२ बजे

नुवाकोट- नुवाकोटको तारकेश्वर गाउँपालिकाकाले आफ्नो गाउँपालिकाभित्रका विद्यालयमा हरेक बुधबार जातीय मौलिक पहिचानसहितको पोशाक लगाउनुपर्ने प्रावधानलाई कार्यान्वयनमा ल्याएको छ ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले बुधबार आ–आफ्नो जातीय पहिचान अनुसारको पोशाक लगाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनको अनुसार सम्पूर्ण जातजाति (समुदाय)को पहिचान र संस्कृतिको संरक्षणका लागी गाउँपालिकाले अभियानका रूपमा परम्परागत जातीय पोशाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोशाक अनिवार्य गरिएको छ ।


'जातीय पहिचानमा सजिएर विद्यालय जान पाउँदा विद्यार्थीहरू उत्साहित देखिएका छन्,' उनले भने, 'मौलिक पोशाक लगाउन पाएसँगै विद्यार्थीमा विद्यालयप्रतिको आकर्षण र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।' तामाङ समुदायको बाहुल्यता रहेको तारकेश्वरमा विशेष गरेर चाडपर्व र मेला जात्रामा मात्र जातीय पोशाकको प्रयोग हुने गरेपछि संरक्षणका लागि गाउँपालिकाले विद्यालयस्तरमा जातीय पहिचानसहितको पोशाक कार्यान्वयनमा ल्याएको हो ।

गत फागुन १४ मा बसेको गाउँ शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरूको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोशाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो । सोही निर्णयका आधारमा गाउँपालिकाको अध्यक्षको निर्देशनपश्चात् विद्यालयको शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीहरूले साताको बुधबार आ–आफ्नो पोशाकमा सजिएर पढ्न र पढाउन सुरु गरिएको हो ।

यसअघि चाडपर्व र मेला–जात्राहरूमा प्रदर्शनीका रूपमा लगाइने गरिएको जातीय पोशाक विद्यालयतहमा कार्यान्वयनमा ल्याएसँगै आगामी दिनमा नियमित प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ । 'परम्परा, संस्कृति र वेषभूषाको संरक्षणमा आफू निर्वाचित भएर आएसँगै विशेष अभियानका रूपमा प्राथमिकता दिएका छौँ,' अध्यक्ष अधिकारीले भने, 'तीज, ल्होछार, गोरु जुधाइमा गाउँपालिकाले विभिन्न शीर्षकमा सहयोग पुर्याएका छौँ । त्यसमार्फत हाम्रा मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने आशा लिएका छौँ ।'

गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणका लागि जातीय मौलिक पहिचानका कपडा बुन्ने, बाँसका चोयाबाट डोका–थुन्से बुन्ने, ढिकी, जाँतो र घट्ट बनाउने तालिम दिने र ती सामग्रीको प्रयोगका लागि विशेष अनुदान समेत उपलब्ध गराउने नीति अवलम्बन गरेको छ । रासस


Author

थप समाचार
x