गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना
गोरखा- सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ ।
यससँगै चीनतर्फ बिओपीको संख्या १० वटा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करिब १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।
नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरू जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरूको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानी लगायत कार्यहरू गर्नेछ । समुद्री सतहबाट करिब ३ हजार ८ सय ७५ मिटरको उचाइ स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुईला नाका रहेको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ २ सय ४४ र चीनतर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया