समाज

चार वरिष्ठ प्रहरी अधिकृत डिआइजीमा पदोन्नति

इकागज |
जेठ १४, २०८१ सोमबार १९:३० बजे

काठमाडौँ- प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीबाट) पदोन्नति भएका चार जना प्रहरी अधिकृतलाई आज प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।


प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे । पदोन्नति हुने प्रहरी नायब महानिरीक्षकहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी छन् । 

गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार  प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे ।

सो क्रममा महानिरीक्षक कुँवरले राष्ट्र, जनता र सङ्गठनप्रति गरेको योगदान, कार्यक्षमतालगायत बढुवाका सम्पूर्ण आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, 'राज्य र सङ्गठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवं निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुनेछ भनी विश्वास लिएको छु ।'


Author

थप समाचार
x