समाज

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा कमलादीमा कार्यक्रम

इकागज |
जेठ १६, २०८१ बुधबार ९:९ बजे

काठमाडौँ- आज मे २९ तारिखका दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आयोजक समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ । 

आयोजक समितिका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ रहेका छन् । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको अवसरमा आज बिहान साढे ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम हुँदैछ ।


आयोजक समितिले आज बिहान सञ्चय कोष भवन (मार्ग-सञ्चय कोष भवन, त्रिदेवी मार्ग-दरबारमार्ग-घण्टाघर-नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी)मा प्रभातफेरि गरेको थियो ।

सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी ६ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

यस्तै यो एकै याममा तीन पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाइन् भने उनकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बन्यो ।


 


Author

थप समाचार
x