करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला संकलन, सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो
सिन्धुली- क्याप परियोजना अन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन् ।
शुक्रबार गोलन्जोर गाउँपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सफा गरेका छन् ।
क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (युथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सयभन्दा बढी सहभागीहरूले सरसफाइ अभियानमा सहभागिता जनाएका थिए । ‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एसिया) को एक प्रमुख आयोजनाको रूपमा रहेको छ भने युनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) द्वारा लागू गरिएको हो ।
सरसफाइ अभियानमा प्रमुख अतिथिको रूपमा सहभागी भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले पालिकाले गर्नु पर्ने काम क्रिएसनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताए । उनले बढ्दो सहरीकरणले गोलन्जोर गाउँपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सन्चालन गरेको सरसफाइ अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए ।
क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए । उनले भने, ‘हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट आउनुपर्छ ।’
मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा हामी सबै गोलन्जोरमा नदी सरसफाइको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एक साथ सँगै सञ्चालन गर्ने बताए । उनले परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरूका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाइ अभियान सन्चालन गरिने बताए ।
गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा टिपर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन् । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया