समाज

यातायात कार्यालय गौर दलालको केन्द्र, दुई जना पक्राउ

इकागज |
जेठ २०, २०८१ आइतबार १६:५४ बजे

रौतहट- रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय देशैभरको दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे, चार पांग्रे सवारी चालक अनुमतिपत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय देशभरको दलालहरूका लागि आकर्षणको केन्द्र बनेको हो ।

यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताएकी छन् ।


पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् । पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौँसम्मका दर्जनौं दलाल घुमिरहेका देख्न सकिन्छ । दलाल मार्फत खुलेआम रकम लिएर चालक अनुमतिपत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ । स्कुटर, जिप, कार, टेम्पु, ट्याक्टरलगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारीलगायतका कार्यका लागि आर्थिक लेनदेन दलालमार्फत हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

कार्यालयका प्रमुख अरविन्द दासलेभने आरोपको खण्डन गरेका छन् । तर, प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिने सेवाग्राहीको भनाइ छ ।


Author

थप समाचार
x