समाज

सशस्त्र प्रहरीद्वारा नेपाल-चीन सीमाका स्तम्भको अनुगमन

इकागज |
जेठ २१, २०८१ सोमबार १४:३४ बजे

काठमाडौँ- सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिह्न) नं. २ को अनुगमन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।


समुद्र सतहबाट ५ हजार २ सय मिटर उचाइ तथा भौगोलिक रूपमा अत्यन्त विकट र हाई अल्टिच्युडका बाबजुद सशस्त्र प्रहरी बलको टोली पहिलो पटक त्यहाँ पुगेको हो । जेठ १३ गते त्यसतर्फ गएको टोलीले १७ गते सीमा स्तम्भ तथा सीमा क्षेत्रको अनुगमन गरी २० गते सदरमुकाम फिर्ता भएको छ ।

साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट तीन दिनको पैदल यात्रापछि मात्र पुग्न सकिने सीमा स्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दूरीमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो । सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बीचबीचमा पाल टाँगेर बसेको थियो ।


Author

थप समाचार
x