समाज

पत्रकार महासंघको सदस्यता विवाद चुलियो, जेठ २६ मा हुने भनिएको निर्वाचन अन्योलमा

इकागज |
जेठ २२, २०८१ मंगलबार १५:२० बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघको सदस्यता विवाद चुलिएको छ । महासंघ नेतृत्वले सदस्यता शुद्धीकरणका नाममा राजनीतिक आस्थाको आधारमा सदस्य वितरण र पुराना सदस्य कटौती गरेपछि विवाद चुलिएको हो । विवादसँगै महासंघको जेठ २६ गते हुने भनिएको नेतृत्व चयनको cमा परेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महासंघ नेतृत्वले गरेको निर्णयको कडा आलोचना गरेका छन् । उनले महासंघ नेतृत्वलाई आफ्नो सदस्यता खारेज गर्न चुनौती समेत दिएका छन् । ‘बाहिर ट्रायलमा पठाएकै सूची अनुसारको नाम हो भने मेरो नाम पनि काटिदिनोस्, म गर्व गर्छु,’ बस्नेतले सार्वजनिक रूपमा महासंघको नेतृत्वलाई चुनौती दिँदै भने ।


बस्नेतले नेपाल पत्रकार महासंघलाई गैरपत्रकारको संस्था बनाउन खोजेको भन्दै आलोचना गरेका छन् । ‘समाचार लेख्नेलाई फाल्ने कुरामा सहमत हुन सकिन्नँ,’ उनको धारणा छ ।

सदस्यता शुद्धीकरणको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरूले आज मंगलबार बिहान नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई महासंघको केन्द्रीय कार्यालयमा भेटी महासंघको कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय जानकारी गराइएको छ । ‘शुद्धीकरणका नाममा समाचार लेखेर बाँच्ने पत्रकारहरूलाई हटाउने यो प्रपञ्च हामी अब मान्दैनौँ, यो निकम्मा नेतृत्वले अब शुद्धीकरण गर्न सक्दैन,’ प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले भने ।

प्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण चाहेको बताउँदै उपाध्यक्ष पाण्डेले शुद्धीकरण विधि र प्रक्रियामा हुनु पर्ने जिकिर गरे । सदस्यता शुद्धीकरणका लागि महासंघलाई अधिकतम लचकताका साथ साथ दिएको भए पनि दोहोरो/तेहरो मापदण्डका आधारमा सदस्यताको सूची तयार गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए । ‘मापदण्डलाई धुजा/धुजा बनाउने काम भयो,’ उनले भने । 

प्रेस चौतारीमा आस्थावान् मात्र होइन, अब सम्पूर्ण श्रमजीवी पत्रकारको नेतृत्व प्रेस चौतारी नेपालले गर्ने उनले स्पष्ट पारे । ‘देशभर प्रतिरोधमा उत्रन्छौँ, हाम्रो सहभागिताविना अघि बढे यसको जिम्मेवार स्वयं महासंघको वर्तमान नेतृत्व हुनेछ,’ पाण्डेले भने । 

सोहीक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकार महासंघभित्र भएको भ्रष्टाचार र अनियमितता सार्वजनिक हुने डरले प्रेस चौतारीलाई त्यहाँभित्र पस्ने ढोकै बन्द गर्ने नियतले सदस्यता कटौती गरिएको आरोप लगाए । प्रेस चौतारी नेपाललाई वर्तमान नेतृत्वको यो निर्णय कुनै पनि हालतमा मान्य नहुने लामाले उल्लेख गरे ।

महासंघ नेतृत्वको यो निर्णयविरुद्ध देशव्यापी आन्दोलनमा जाने र महासंघभित्र भएको अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्ने उनले बताए । ‘महासंघको अक्षय कोषको पैसा समेत मासेको सूचना हामीले पाएका छौँ, लाखौँ लाखका चेकहरू काटिएका छन्, त्यहाँ भित्र व्यापक भ्रष्टाचार र अनियमितता भएको छ, त्यसलाई लुकाउन प्रेस चौतारी आबद्ध पत्रकारको सदस्यता नै कटाएर महासंघमा छिर्नै नदिने प्रयत्न हुँदै छ, यो हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन,’ उनले भने । 

महासंघ नेतृत्वले महाधिवेशनले तय गरेको १५ बुँदे मापदण्डलाई पूरै लत्याएर मनलाग्दी सदस्यता थप र कटौती गरेको भन्दै उनले यसलाई स्वीकार्न नसकिने जिकिर गरे । अब सशक्त आन्दोलन मार्फत निकम्मा र अवैध बनिसकेको महासंघको नेतृत्वलाई हटाउनुको विकल्प नरहेको लामाको भनाइ छ ।


Author

थप समाचार
x