समाज

चाँगुनारायण नगरपालिकाको नौला अभ्यास : वातावरण दिवसमा हरित प्रदर्शनी

इकागज |
जेठ २४, २०८१ बिहीबार १४:३२ बजे

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरित प्रदर्शनी २०८१ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा बुधबार नगरपालिकाले वातावरण जोगाउने विधि र प्रविधिसहितको नौलो प्रदर्शनी गरेको हो ।

कार्यक्रमको उद्घाटन नगर प्रमुख जीवन खत्रीले गमलामा पानी सिञ्चन गरी गरेका थिए । सो क्रममा उनले नगरपालिकालाई वातावरणमैत्री बनाउन लागेको बताए । नगर प्रमुख खत्रीले सबैको साथ र सहयोगले पालिकालाई प्रदूषणमुक्त बनाउन सकिने उल्लेख गर्दै त्यस निम्ति वायु गुणस्तर व्यवस्थापन कार्यविधि तयार गरिएको जानकारी दिए । वातावरणसम्बन्धी व्यावहारिक र प्रयोगात्मक रूपमा नगरवासीलाई जानकारी दिन पहिलोपटक हरित प्रदर्शनी मेला गरिएको चर्चा गरे ।


नगरपालिकाले ५२ औं विश्व वातावरण दिवसको अवसरमा गरेको हरित प्रर्दशनीनगर प्रमुख खत्रीले नगरपालिका देशभरमै वायु गुणस्तर व्यवस्थापनसम्बन्धी कार्ययोजना निर्माण गर्ने पहिला पालिका बनेको स्मरण गर्दै सोही अनुरूप कार्यान्वयनको चरणमा अगाडि बढिरहेको बताए ।

नगर उपप्रमुख रमेश बुढाथोकीले नगरले विनियोजन गरेका लक्षित बजेटबाट सञ्चालित सीपमूलक तालिमलाई प्रवर्द्धन गर्नका लागि वातावरण दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । प्रदर्शनी अवलोकनका साथै प्रदर्शनीमा राखिएका थाकलको ब्याग, सुतीको कपडा र अचार समेत खरिद गरेका उनले वातावरण जगेर्नाका लागि हरित अभियानमा नगरपालिका लागिरहेको उल्लेख गरे ।

उनले नगरपालिकाले विनियोजन गरेको लक्षित बजेट र कार्यक्रम अन्तर्गत वडागत रुपमा तालिम दिएका तालिमप्राप्त महिलाहरूले विभिन्न घरेलु सामग्रीको उत्पादन गरेकोमा आफू प्रभावित भएको समेत जिकिर गरे । उनले नगरपालिकाले महिला, सिमान्तकृत तथा पिछडिएका वर्ग र क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै दिइएको तालिमसँगै सीपलाई बजारसँग जोड्ने अभ्यास अन्तर्गत सो प्रदर्शनी गरिएको जानकारी दिए ।


Author

थप समाचार
x