समाज

मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग

इकागज |
जेठ २५, २०८१ शुक्रबार २०:२८ बजे

काठमाडौँँ- नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ ।

काठमाडौँमा शुक्रबारबाट सुरु महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो ।


'एमडिएमएस लागू नहुँदा गैह्र कारोबार बढ्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस्, सरकारले त्यसका लागि तत्काल एमडिएमएस प्रणाली लागू गर्नु पर्छ,' महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनमा आफ्नो धारणा राख्दै भने ।

उनले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको मोबाइल व्यवसाय मारमा परेको समेत बताए ।

भन्सार छली गरेर भित्रिने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रिएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको उनले बताए ।

'अहिले ग्रे फोनले नेपाली मोबाइल व्यवसायीहरू मारमा छन्, भन्सार छलेर भित्रिने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा  वार्षिक अर्बौँ रुपैयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,' महासंघका अध्यक्ष भट्टराईले भने ।

महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।


Author

थप समाचार
x