समाज

नक्कली नोट कारोबार गरेको आरोपमा काठमाडौँबाट दुई महिला पक्राउ

इकागज |
जेठ २७, २०८१ आइतबार १६:५१ बजे

काठमाडौँ- प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा काठमाडौँबाट दुई जना महिलालाई पक्राउ गरेको छ । नक्कली नोटसहित एक जनालाई र अर्का एक जनालाई संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया नीलिमा श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


कंलकीस्थित ह्वाइट र्याबिट रेस्टुरेन्ट नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी परिसरबाट विशेष प्रहरी टोली खटिएको थियो । सोक्रममा उक्त टोलीले नक्कली नोटसहित शुक्रबार डंगोललाई पक्राउ गरेको थियो । उनको साथबाट नक्कली नोट पाँच लाख १४ हजार फेला पारेको प्रहरीले जनाएको छ ।

डंगोललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको समेत संलग्नता देखिएपछि उनलाई नागार्जुन-५ स्थित पद्मा कोलोनीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x