रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा र चल्ला नष्ट, लाखौंको सामान बरामद
रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका विभिन्न युनिटहरूले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।
जेठ महिनाको १ देखि २६ गतेसम्म जिल्लाको विभिन्न नाका हुँदै तस्करहरूले भारतबाट अवैध रूपमा भित्र्याएको पाँच लाख ४३ हजार ९३७ रुपैयाँ बराबरका ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।
बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा विभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन् ।
त्यसैगरी भारतीय बजारबाट भन्सार छली अवैध रूपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैयाँ बराबरको कपडा, किराना लगायतका सामग्री बरामद गरी आवश्यक कारबाहीका लागि आज आइतबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरेले कमाण्ड सम्हालेपछि आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया