समाज

मिटरब्याज पीडितहरूले कारबाही प्रक्रिया अघि बढाउन के गर्ने ?

इकागज |
जेठ २७, २०८१ आइतबार १८:१३ बजे

काठमाडौँ- सरकारले देशभरका मिटरब्याज पीडितका समस्या समाधानको प्रयोजनका लागि तथ्यांक संकलन र आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेसम्बन्धी सूचना जारी गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले एक सूचना जारी गर्दै प्रक्रियाका बारेमा सर्वसाधारणहरूलाई जानकारी गराएको हो । आयोगले नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयबाट “अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग” गठन भई यस आयोगलाई तोकिएको कार्यादेश बमोजिमको कार्य भइरहेको पनि जनाएको छ ।


आयोगद्वार जारी सूचनामा भनिएको छ, '​​अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विषयमा पीडित पक्षहरूबाट लेनदेन वा ऋण / कर्जाको कारोबारका क्रममा ऋण / कर्जा लिने व्यक्ति (आसामी) र ऋण / कर्जा दिने व्यक्ति (साहु) बीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी यस आयोगबाट निवेदन संकलन गर्नुपर्ने भएकोले अनुचित लेनदेनका पीडितहरूको यथार्थ समस्या समाधानको प्रयोजनका लागि तथ्यांक संकलन र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन यस आयोगबाट ऋण/कर्जा लिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या पाँच (५) को (फारम नं. १) गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा राखिएको छ ।'

आयोगले उक्त सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ (एक्काइस) दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गर्न अनुचित लेनदेन पीडित सबै सरोकारवालाहरूको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको जनाएको छ । 'अतः अनुचित लेनदेन (मिटरब्याज) पीडितहरूले उक्त वेबसाइटबाट सो निवेदन फारम डाउनलोड/प्रिन्ट गरी उक्त फारममा उल्लेख भएका अनुचित लेनदेन कारोबारसम्बन्धी सोधनी भएका विषयसँग सम्बन्धित सबै विवरणहरू प्रष्ट बुझिने गरी भरी आफूसँग रहे भएसम्मका त्यस्तो ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ (एक्काइस) दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गरिदिनुहुन अनुचित लेनदेन पीडित सबै सरोकारवालाहरूको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ,' आयोगले भनेको छ ।

यसअघिको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट संकलन भई फर्छ्योट हुन बाँकी रहेका उजुरी निवेदनहरू र त्यसपछि यो आयोग गठन हुनु अघिका निवेदन उपरको कारबाहीका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०।१०।०८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेनसम्बन्धी वर्तमान कानुनी व्यवस्थाअनुसार कारबाही सुचारू हुने समेत आयोगले उल्लेख गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) पीडित निवेदकसँग सम्बन्धित साहु एवं कर्जादाताहरूले समेत विवादको सहज निराकरण/मेलमिलापको प्रक्रियाबाट ऋणी र धनी (साहु) बीचको आपसी छलफलबाट समस्या समाधानका लागि ऋण दिने व्यक्तिले भर्नुपर्ने पृष्ठ संख्या चार (४) रहेको छुट्टै फारम (फारम नं. २) को व्यवस्था भएकोले निजहरूले समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उक्त फारम नं. २ भरी बुझाउनु पर्नेछ ।


Author

थप समाचार
x