अदालतको आदेश उल्लंघन गर्दै व्यक्तिलाई फसाउन यौनहिंसाको तानाबाना
धरान- एउटा लेनदेनको विषयमा जिल्ला अदालत सुनसरीले धरानका रामप्रसाद राईलाई छुन पनि नसक्ने गरी आदेश दिएपछि यौनहिंसाको तानाबाना बुनिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले यस्तो तानाबाना गरी उपल्ला निकायमा पनि यही रिपोर्टिङ गरेको पाइएको छ ।
रामप्रसादकी पूर्वप्रेमिकाको प्रयोग गरी उजुरी गराउने प्रयत्न गरिएको स्थानीयले बताएका छन् । यो एउटा जग्गाको लेनदेनको विषयमा भएको मुद्दामा रामप्रसादलाई तान्नका लागि बुनिएको अर्को तानाबाना रहेको हो ।
जिल्ला अदालत सुनसरीले गरेको आदेश विपरीत इलाका प्रहरी कार्यालय डीएसपी मानबहादुर राईले एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको थियो ।
अदालतको पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी २४ घन्टासम्म मानसिक यातना दिँदै १७ जेठमा छाडेको थियो । प्रहरीको बर्दीको बलमा दोहोरो नागरिकता रहेका नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राईको पक्षमा लागेर डीएसपी मानबहादुर राईले रामप्रसादप्रति अन्याय गरेको उनले बताएका छन् ।
जग्गा कारोबारी रहेका राईको पक्षमा लागेर रामप्रसादमाथि डीएसपी मानबहादुर राईले कानुन विपरीत काम गरेका छन् ।
अदालत पुगिसकेको विषयमा प्रहरीले सोध्न समेत नपाउने कानुनी व्यवस्था रहेकोमा डीएसपी मानबहादुरले त्यसको विपरीत मानसिक यातना दिएको पीडितको गुनासो रहेको छ ।
अदालतको नै मानहानी गरेको विषयमा जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हाल्ने समेत तयारी भएको छ ।
गत वैशाख ३१ गते साधारण तारिखमा रामप्रसादलाई अदालतले छाडेको थियो । उनको अर्को तारेख जेठ २९ गतेका लागि अदालतले तोकेको थियो ।
तर डीएसपी मानबहादुर राईले भने अदालतको नै मानहानी गरी १६ गते नै बिना पुर्जी पक्राउ गरी १७ गतेसम्म राखेर बाहिर कागज गराई १८ नम्बर वडा कार्यालयमा लगेका थिए ।
धरान–१५ कि हर्कमाया लिम्बुको हाल सुन्दर हरैंचा नगरपालिका तत्कालीन दुलारी गाविसमा रहेको ८ कट्ठा २ धुर जग्गा बैंकमा राखी ८५ लाख रुपैंया ऋण लिने लेनदेनको विषयमा अनाहकमा रामप्रसाद राईमाथि दबाब दिइएको हो ।
यो मुद्दामा लेनदेनको कागज २०८० साल फागुन २० गते गरिएको थियो । यो लेनदेनको विषय अदालतमा विचाराधीन अवस्थामा छ । लेनदेनमा गडबडी भए वा विवाद आए प्रहरीले समन्वय गरी अदालतसम्म लगिदिने काम हो ।
जब यो प्रकरणको खुलासा भयो रामप्रसादलाई कानुनी फन्दामा पार्न उनकी पूर्वप्रेमिका तयार पारिएको बताइन्छ ।
रामप्रसादलाई अदालतको आदेशबिना २४ घन्टा राखेको विषयमा कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङलाई गलत रिपोर्टिङ गरिएको पनि पाइएको छ ।
‘यौनहिंसा सम्बन्धी विषयमा सोधपुछका लागि लगिएको भन्ने हो । उनलाई प्रहरीले यही विषयमा पक्राउ गर्न सक्छ’, डीआईजी खापुङले भने,‘अन्य विषयको जानकारी लिने र अनुसन्धानको काम जारी छन् ।’ न्युजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया