Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

विभिन्‍न देश पठाइदिने भन्दै तीन सय बढीलाई ठगी गर्ने गिरोह पक्राउ

इकागज |
जेठ २९, २०८१ मंगलबार १५:२९ बजे

काठमाडौँ- विभिन्न देश पठाइदिने भन्दै तीन सय बढीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशहरूमा पठाईदिन्छु भनि ३ सय  जनाभन्दा बढीसँग करिब १५ करोड रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवन घर भएका राजकुमार भट्ट, पोखरा घर भएका नविन विक र पवन पन्त रहेका छन् ।


आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसरी सम्पर्कमा आउने मानिसहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गर्न सफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । विदेश जान चाहने मानिसहरूले सुरुमा केही रकम जम्मा गरिदिएपछि नक्कली भिसा देखाउने गरेको समेत खुलेको उनले बताए ।

हालसम्म उक्त गिरोहले नेपालबाट ३ सय जनाभन्दा बढी मानिसहरूलाई विदेश पठाउँछु भनि विगत ३/४ वर्षदेखि प्रतिव्यक्ति ५ देखि १० लाखका दरले हालसम्म १५ करोडभन्दा बढी रकम ठगी गरेको देखिएको भट्टराईले जानकारी दिए । त्यस्तै अमेरिका पठाइदिन्छु भन्दै ४ करोडभन्दा ठगी गर्ने नारायणकुमार खड्कालाई समेत गड्डाचौकीबाट पक्राउ गरी ल्याइएको उनले बताए ।

त्यस्तै प्रहरीले थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि रु. ४५ लाख ठगी गर्ने सर्लाही घर भएका मुन्न सिंह भन्ने सुजितकुमार सिंहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जुवा तथा सट्टेबाजीसम्बन्धी कसूर मुद्दामा पक्राउ परी थुनामा रहेका सञ्जयकुमार साहलाई छुटाई दिने भन्दै उक्त रकम ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x