समाज

मिटरब्याजसम्बन्धी मुद्दा मिलाइदिने भन्दै पैसा लिने साह पक्राउ

इकागज |
जेठ २९, २०८१ मंगलबार १९:५४ बजे

रौतहट- मिटरब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन् । उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन् । 


आरोपी साहले सिडिओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार मागेको आरोप छ ।

पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितसँग लिएको पैसा फिर्ता गराएर आरोपीमाथि ठगीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको डीएसपी गिरीले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै ५० हजार लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x