समाज

पर्यावरण संरक्षणमा एडिबीले ललितपुर महानगरसँग सहकार्य गर्ने

इकागज |
जेठ ३०, २०८१ बुधबार १२:४० बजे

ललितपुर- एसियाली विकास बैंक(एडिबी)ले  हरियाली प्रवर्द्धन, पर्यावरण संरक्षणसँग सम्बन्धित विषयमा ललितपुर महानगरसँग सहकार्य गर्न छलफल सुरु गरेको छ । काठमाडौँ पर्यावरण शहरी नविकरण परियोजना अन्तर्गत एसियाली विकास बैंकले महानगरमा काम गर्न बुधबार छलफल आयोजना गरेको हो ।

एडिबीले यो परियोजना अन्तर्गत विश्वका एक दर्जनभन्दा धेरै वटा मुलुकमा काम गरेको छ ।


ट्युनिसिया, अफ्रिका, ल्याटिन अमेरिका, अफ्रिका लगायतका मुलुकमा यो परियोजना अन्तर्गत काम भएको छलफल कार्यक्रममा  एडिबीका आरनउड  ह्याकमनले जानकारीका दिए ।

परियोजना अन्तर्गत जलवायु परिवर्तन, पानी र सरसफाई , वातावरण संरक्षण, हरियाली प्रबद्र्धनको क्षेत्रमा काम गरिनेछ । त्यसैगरी सामाजिक र लैंगिक विषयमा पनि परियोजना अन्तर्गत काम गरिने जनाइएको छ । सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा पनि काम गर्न सकिने बताए ।

ललितपुर महानगर काठमाडौं उपत्यकाको महत्वपूर्ण सहर भएको बताउँदै यसको सौन्दर्यीकरणको लागि एडिबी महानगरसँग सहकार्य गर्न इच्छुक र आतुर रहेको उनको भनाई थियो  । ललितपुर महानगरको प्राथमिकता आफूहरुको लागि महत्वपूर्ण भएको प्रष्ट पार्दै उनले भने, ‘महानगरको विकास र समुदायलाई हुने हित हेरेर काम गर्न चाहन्छौँ ।’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले एडिबीसँग सहकार्य गरेर महानगरबासीको दिनचर्या सहज बनाउने धेरैवटा परियोजना सम्पन्न गरेको बताए । पर्यावरण सरक्षण र हरियाली प्रवर्द्धननलगायतका विषयमा पनि महानगर एडिबीसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारे ।

उनले भने,‘सहकार्य गरेर काम गर्न तयार छौं, कामलाई व्यवस्थित बनाउन समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढौं ।’ परियोजनाका लागि महानगरको तर्फबाट पनि विज्ञ र प्राविधिक सहितको एउटा समूह बनाउने बनाउने बताए । 

कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले पर्यावरण संरक्षणका लागि धेरैवटा परियोजनामा काम गरेको बताए । महानगरको व्यस्त ठाउँ लगनखेलमा झण्डै ४५ रोपनी क्षेत्रफलमा सप्तपाताल पोखरीसहित अन्य दुई वटा पोखरी पुन:निर्माण हुँदै गरेको बताए ।

कार्यक्रम उपप्रमखु मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका प्रवक्ता राजु महर्जन , वन, वातावरण समितिका संयोजक नारायण लाल अवाले उपस्थित थिए ।


Author

थप समाचार
x