विदेशस्थित नियोगका वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै
काठमाडौँ- विदेशस्थित नेपाली नियोगका वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाट हुने भएको छ ।
नियोगहरूबाट रोजगारदाता कम्पनीहरूले गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणको प्रकृयालाई सरल, सहज र प्रविधिमैत्री तुल्याउन सुशासन तथा ई-गभर्नेन्सको अवधारणा अनुरुप अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन प्रणालीमार्फत पहिलो पटक नेपाली राजदूतावास अबुधाबीबाट सुरू भएको छ ।
जेठ २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँबाट भर्चुअल माध्यममार्फत शुभारम्भ गरेपछि सेवा सुचारू भएको हो । उक्त कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कन्सुलर सेवा विभागले निर्माण गरेको यस अनलाईन प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना प्रणाली (FEMIS)सँग पनि अन्तरआवद्ध गरिएकोले मागपत्र प्रमाणीकरण र श्रम स्वीकृति सम्बन्धी कार्य एउटै प्रणालीबाट सम्पन्न हुने बताए ।
'यस नयाँ व्यवस्थाबाट दूतावासहरूमा हुने भीडभाड कम भई कार्यचाप कम हुने, विचौलिया जन्य कार्य निरुत्साहित हुने, कम्पनीहरूको बारेका दूतावासमा डिजीटल रेकर्ड रहने र त्यसले दूतावासबाट कामदार मागपत्र प्रमाणीकरण गराई लगेका कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरूलाई समस्या परेमा मदत गर्न सघाउ पुग्ने, सम्पूर्ण प्रकृया सरल, सहज र पारदर्शी भई विद्युतीय सुशासन कायम हुने तथा सेवाग्राहीहरू लाभान्वित हुने अवस्था आउँछ' उनले भने ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई अरु व्यवस्थित र मर्यादित बनाउने कार्यमा मन्त्रालयले गम्भिरतापूर्वक अध्ययन गरिरहेको र आजको यस नयाँ प्रणालीको शुरुवातसँगै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लगिने योजना रहेको बताए ।
उक्त कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव मदन दाहाल तथा भर्चुअल माध्यमबाट संयुक्त अरब ईमिरेट्सका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आगन्तुक विशिष्ट महानुभावलाई स्वागत गर्दै कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सरल र सहज सेवा प्रदान गर्ने कार्यमा विभाग सँधै कटिबद्ध रहेको उल्लेख गरे ।
उक्त व्यवस्थाबाट रोजगारदाता कम्पनी तथा नियोगको कार्य पारदर्शी, सहज र कागजरहित हुनुका साथै सेवाग्राहीहरूले समेत लाभ प्राप्त गर्ने र रोजगारदाताहरूले गर्दै आएको प्रकृया सम्बन्धी गुनासोको पनि समाधान हुने अपेक्षा गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया