वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ६ जना कन्सलटेन्सी सञ्चालक पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जनाभन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ कोटेश्वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका-१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् ।
रेशम रावलसमेतले काठमाडौँ कोटेश्वर र तिनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्स समेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानुनी रूपमा कागजात र रकम संकलन गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।
उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्टा कागजातहरू बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया