समाज

लोक कल्याणकारी विज्ञापनको रकम रोकिएकोमा प्रेस चौतारीको आपत्ति

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १४:१७ बजे

काठमाडौँ- सरकारले छापा माध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम रोकिएको घटनाप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाखदेखि असार महिनासम्मको लोक कल्याणकारी विज्ञापन बापतको करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रोकेर अर्थ मन्त्रालयले सञ्चार माध्यम र श्रमजीवी एवं स्वरोजगार सञ्चारकर्मीप्रति गम्भीर घात गरेको प्रेस चौतारीले जनाएको छ । शुक्रबार प्रेस चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै भने, 'चौतर्फी आर्थिक मन्दीको मारमा परेर पनि गाउँ-गाउँमा सूचना प्रवाहको जिम्मेवारी निर्वाह गरिरहेका पत्रपत्रिकालाई राज्यले उपलब्ध गराउनुपर्ने लोक कल्याणकारी विज्ञापनको रकमसमेत रोकेर सरकारले आम श्रमजीवी पत्रकार र तिनमा आश्रित परिवारजनको पेटमा लात हान्ने काम गरेको छ ।'


यस घटनाले अर्थ र सञ्चार मन्त्रालयको नेतृत्वको दृष्टिकोण हो भन्ने कुराको छनक पनि दिएको महसुस हुन थालेको उनले बताए ।

गत वर्ष पनि मन्त्रालयले यस्तै रवैया देखाएकोमा प्रेस चौतारी नेपालको अगुवाइमा अन्य सङ्घ, सङ्गठनहरूको निरन्तरको दबाबपछि उक्त रकम निकासा गर्न मन्त्रालय बाध्य भएको लामाले विज्ञप्तिमा स्मरण गराएका छन् । 'प्रेस चौतारी नेपाल, नेपाल प्रेस काउन्सिलको वर्गीकरणमा परेका ८६४ वटा पत्रिकाले वर्षौँदेखि पाउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम तत्काल उपलब्ध गराई स्वरोजगार मिडिया र श्रमजीवी पत्रकारको असल अभिभावक बन्न सरकारसँग जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रेस चौतारी नेपाल, नेपाल प्रेस काउन्सिलको वर्गीकरणमा परेका ८६४ वटा पत्रिकाले वर्षौंदेखि पाउँदै आएको लोक कल्याणकारी विज्ञापनको रकम तत्काल उपलब्ध गराई स्वरोजगार मिडिया र श्रमजीवी पत्रकारको असल अभिभावक बन्न सरकारसँग जोडदार माग गरेको छ ।


Author

थप समाचार
x