समाज

विद्युत् प्राधिकरणले कहिले बुझ्‍ने सेवाग्राहीको मर्का ?

सुभद्रा धिताल |
जेठ ३२, २०८१ शुक्रबार २१:३६ बजे

काठमाडौँ- झण्डै एक महिना भयो मधेश प्रदेशको सर्लाहीस्थित हरिवनमा रहेको विद्युतीय सवारी साधनको ‘चार्जिङ स्टेसन’ बिग्रिएको । जसबाट सेवाग्राहीहरूले हैरानी बेहोरिरहनु परेको छ ।

आफ्नो दैनिकी कामकाज सहज र सस्तो होस् भनेर सेवाग्राहीले विद्युतीय सवारी साधन लिए । तर, अहिले त्यही सवारी निल्नु न ओकल्नुजस्तै भएको छ । सर्लाहीका स्थानीयवासी तथा सेवाग्राहीहरू चार्जिङ स्टेसन बिग्रँदा मारमा परेका छन् ।


तराईको ४४/४५ डिग्रीको उखरमाउलो गर्मीमा गाडी चार्ज गर्न घन्टौं कुरेर पनि निराश भएर फर्कन्छन् सेवाग्राही । वृद्धवृद्धा तथा बालबच्चासहित आउने सेवाग्राहीहरूलाई झन चर्को गर्मीमा सास्ती नै हुनेको गरेको छ । विद्युतीय सवारी किने पनि राम्रोसँग प्रयोग गर्न पाएका छैनन् सेवाग्राहीहरूले । ‘गाडी मात्र भएर के गर्नु जब प्रयोग गर्न पाइँदैन भने । लगभग एक महिना जति भयो गाडी राम्रोसँग चार्ज गर्न सकिएको छैन,’ यो गुनासो हो सर्लाहीका स्थानीयवासी तथा सेवाग्राही ईश्वर महत । उनी चार्जिङ स्टेसनमा चार्ज गर्ने मेसिन बिग्रँदा आजित छन् ।

आजभोलि चार्ज गर्ने उद्देश्यले गाडी लिएर  स्टेसनमा आउने र घन्टौं कुरेर निराश भएर घर फर्किने दिनचर्या बनेको छ उनको । करिब एक महिना हुन लाग्यो महतको दैनिकी यसरी नै दोहोरिरहेको छ । ‘हरेक दिन म बिहानदेखि गाडी लिएर कुरेर बस्छु तर चार्ज गर्न पाउँदिनँ,’ उनले भने ।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्जिङ’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रिएको हो । चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको छ । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्छ । यहाँ राखिएका दुइटै चार्जिङ स्टेसन बिग्रिएर समस्या उत्पन्न भएको छ । एउटा बीटीएको चार्जर बिग्रिएर १५/२० दिनपछि बनेको तर पनि चार्ज राम्रोसँग नहुने समस्या त थियो नै अहिले सिसिएसटुएको चार्जर पनि बिग्रिएको छ ।

‘पहिला पनि १५/२० दिन जति स्टेसन बिग्रिएको थियो । अहिले पनि सिसिएसटुको लिक्विड पूरै झरेर चार्ज नै हुँदैन,’ उनले भने, ‘चार्ज गर्ने स्टेसनको पाइपमा प्वाल परेर लिक्विड चुहिएको छ ।’ सेवाग्राही महतका अनुसार चार्जिङ स्टेसनसँग सम्बन्धित व्यक्तिसँग कुरा गर्न खोज्दा चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक/दुई दिनमै आउने आश्वासन दिएका थिए । उनले नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख सागरमणी ज्ञवालीलाई फोन गरेर समस्याबारे जानकारी पनि गराएका थिए । तर,  आयोजना प्रमुख ज्ञवालीले भने आफूहरूको कुरा नसुनी बेवास्ता गरेको महतको भनाइ छ ।

चार्जिङ स्टेसन बिग्रिएपछि बालबच्चा बोकेका यात्रुहरू अलपत्र परेका छन् । सयौँ सेवाग्राहीहरू चार्जिङ स्टेसनबाट चार्ज होला अनि आफ्नो गन्तव्यमा जान पाइएला भनेर स्टेसनमै कुरेर बसेका छन् । चर्को गर्मीमा बालबच्चा लिएर बिग्रिएको चार्जिङ स्टेसन बनि पो हाल्छ कि भनेर बिहानैदेखि सेवाग्राहीहरू बसेको महतले बताए ।

‘बालबालिकासहितका यात्रुहरू बिचल्ली भएर बसेका छन् । फोन गर्यो भने कुनै रेस्पोन्स छैन,’ महतले आक्रोशित हुँदै भने, ‘सागर सरले फोन नै नउठाइदिने खाली मेसेज मात्र गर्ने । उहाँले पठाएको नम्बरमा फोन गर्दा फोन लाग्दैन । कसैले रेस्पोन्स नगर्ने । प्राधिकरणको हेड अफिसमा फोन गर्दा सबै नम्बर बिजीका बिजी अब यहाँ पूरै बिचल्ली छ मान्छेहरूको ।’

उनले सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रिएका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको जिकिर गरे । तर, आज त्यो पनि नभएको हुँदा दुखी छन् उनी ।

यहाँको चार्जिङ स्टेसनमा सधैंजसो समस्या आइरहने भएकाले अहिले सार्वजनिक सवारी साधनहरू आउन छाडेका छन् । महतले भने, ‘बिग्रिएको धेरै दिन भएकाले पब्लिक गाडीहरू आउनै छाडे । थाहा भएकाहरू आउँदैनन् तर जो नयाँ छ त्यो आउँछ जस्तै प्राइभेट गाडीहरूलाई थाहा हुँदैन उनीहरू आउँछन् तर चार्ज हुँदैन र अलपत्र पर्छन् ।’ चार्ज गर्ने पाइपमा प्वाल परेका कारण लिक्विड चुहिएको छ । त्यसको मर्मत गर्नेतर्फ पनि प्राधिकरण र सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै यहाँका सेवाग्राहीहरू यतिबेला रुष्ट छन् ।

चार्जिङ स्टेसन लामो समयदेखि नबनेपछि अर्का सेर्वाग्राही विशाल लामा पनि प्राधिकरण र उसको काम देखेर हैरान छन् ।​ दिनभरमा गाडी चार्ज गर्न लामो तथा छोटो दूरीका सवारी साधनहरू आउने गरेको उनले बताए । आफ्नो गन्तव्यसम्म पुग्नका लागि गाडि चार्ज गर्न सेवाग्राही आए पनि घन्टौं कुरेर रित्तो हात फर्किन बाध्य भएको उनको भनाइ छ । ‘हरेक दिन धेरै मान्छेहरू आफ्नो गाडी चार्ज गर्न आउनुहुन्छ चार्जिङ स्टेसन मर्मत नभएको देखेपछि निराश भएर फर्किनुहुन्छ,’ लामाले सुनाए । चार्जिङ स्टेसनमा कुनै समस्या आएको खण्डमा सम्पर्क गर्न भनेर सम्बन्धित व्यक्तिको मोबाइल नम्बर राखिदिएको छ तर उक्त नम्बर नउठ्ने र लाग्ने गुनासो उनले गरे ।

‘सम्बन्धित व्यक्तिलाई कल गर्यो कहिले उठाउनुहुन्छ कहिले उठाउनुहुन्न उठाइहाले भने पनि सामान बिग्रिएको र चाइनाबाट मगाएको कुरा मात्र दोहोर्याउनुहुन्छ,’ स्थानीयवासी लामाले भने । समस्या हरिवनको मात्र होइन चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको चार्जिङ स्टेसन पनि मर्मत नहुँदा सेवाग्राहीहरू मर्कामा छन् । त्यस्तै मकवानपुरको हेटौंडास्थित रातामाटेमा दुइटा चार्जिङ सेन्टर निर्माण भएका छन् । त्यहाँको समस्या पनि उस्तै हो ।

प्राधिकरणले ५१ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूका ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भएका हुन् ।

छोटो समयमा नै चार्जिङ स्टेसनहरूको अवस्था नाजुक बन्दै गएको छ । यसरी वर्षदिन पनि नबित्दै स्टेसनका उपकरणहरू बिग्रिँदै जानुले प्राधिकरणले खरिद गरेका उपकरणहरूको गुणस्तरीयतामा गम्भीर प्रश्न खडा भएको छ । प्राधिकरणले यात्रु तथा सेवाग्राहीहरूको सहजताका लागि विद्युतीय चार्जिङ स्टेसनको निर्माण गरे पनि पछिल्लो समय यसैका कारण यात्रुहरूले तनावको स्थितिको सामना गरिरहनु परेको छ ।

कहिले स्टेसनहरूमा शौचालयको समस्या हुन्छ त कहिले चार्ज नै नहुने । समस्यै समस्या भएका कारण लाग्छ प्राधिकरण तथा सरोकारवाला निकायले काठमाडौँ उपत्यका बाहिरका चार्जिङ स्टेसन दीर्घकालीन चलाउन खासै चासो दिएनन् । उपत्यका बाहिरका अधिकांश चार्जिङ स्टेसनसम्म पुग्ने यात्रुहरूले सास्ती नै पाएका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको मापदण्ड पालना र दीर्घकालीन योजनाबिनै झारो टार्ने काम गरिरहेको जस्तो देखिएको छ ।

सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । तर, यस्ता समस्या उत्पन्न भइरहँदा के सरकारको यो लक्ष्यले सार्थकता पाउला त ? स्वाग्राहीहरूले निर्धक्क रूपले आफ्नो विद्युतीय गाडीमा लामो तथा छोटो यात्राको मजा लिन सक्लान् त ?

यस्तै चार्जिङ स्टेसनमा यात्रुहरूको सुरक्षा पनि चुनौतीको विषय पनि बनेको छ । यात्रुहरूले भोगेका सास्तीको जिम्मेवारी को ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । प्राधिकरणले चार्जिङ स्टेसन बनाएर मात्र पन्छिन मिल्दैन । प्राधिकरणले चार्जिङ स्टेसन र त्यस वरपर रहेका पसल र शौचालयतिर पनि अनुगमन तथा निगरानी गर्नु आवश्यक छ । पूर्वाधार बनाएर मात्र विकासको काम भएको मानिँदैन जबसम्म त्यसलाई उपयोग गर्ने प्रयोगकर्ता तथा सेवाग्राहीलाई सहज र सुरक्षित महसुस हुँदैन । सधैं चार्जिङ स्टेसनका कारण दु:ख पाइरहने सेवाग्राही तथा यात्रुहरूको मर्मका बारेमा बेवास्ता गरे कै हो त नेपाल विद्युत् प्राधिकरणले ?

र, यो पनि

 


Author

थप समाचार
x