समाज

'साइबर अपराधको विषय पाठ्यक्रममै समावेश हुनुपर्छ'

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १९:४२ बजे

काठमाडौँ- पछिल्लो समय बालबालिकामाथि डिजिटल माध्यमबाट यौन हिंसा हुने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा गैरसरकारी संस्था सिविन नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न डिजिटल माध्यमबाट बालबालिका यौन दुर्व्यवहारमा पर्ने क्रम बढ्दो रहेकोप्रति सरोकारवालाबाट चिन्ता व्यक्त गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरीका साइबर ब्युरो प्रमुख नविन्द अर्यालले यस आर्थिक वर्षमा हालसम्म १७ हजार ५ सय साइबर अपराधका मुद्दा दर्ता भएकोमा तीमध्ये ४ सय ७८ घटना बालबालिकासँग सम्बन्धित रहेकाे बताए । यसले पछिल्लो समय बालबालिकाहरू साइबर अपराधको जोखिममा पर्दै गएको देखाएको उनको भनाइ छ ।


'तीन वर्षमा साइबरको दुरुपयोग गरेर विभिन्न हिंसामा परेका ७९ बालबालिकाको उद्धार गरिएको छ । बालबालिका साइबर अपराधसम्बन्धी अनभिज्ञ हुनु, देखासिकीलगायत कारणले उनीहरू साइबर अपराधको जाेखिममा परेका छन्,' अर्यालले भने ।

बालबालिकामाथि हुने हिंसा र यौन दुर्व्यवहारका घटनामा कमी ल्याउन पाठ्यक्रममै साइबर अपराधको विषय समेटिनुपर्ने उनको सुझाव छ । 'हामीले स्कुल तहबाट नै बालबालिकालाई यस्तो गरे साइबर अपराध हुन्छ । यस्ता क्रियाकलाप गर्नुहुँदैन भन्ने ज्ञान दिनसके मात्र न्यूनीकरण सहज हुन्छ । नत्र दिनहुँ बढ्दो नेट इन्टरनेटको प्रयोगले कमी आउने सम्भावना छैन,' उनले भने ।

कार्यक्रममा सिविनकी कार्यकारी निर्देशक सुम्‍निमा तुलाधरले आफ्ना बालबालिकामाथि कसैले इन्टरनेटका माध्यमबाट यौनजन्य क्रियाकलाप गरिरहेका त छैनन् भन्ने विषयमा अभिभावक चनाखो हुनुपर्ने बताइन् । यसका साथै सरकारले पनि बालबालिकाकाे क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा उनले व्यक्त गरिन् । सहभागीहरूले सरकारले समयानुसार कानुन बनाएर बालबालिकामाथि हुने साइबर अपराध रोक्नुपर्नेमा जोड दिएका थिए । 


Author

थप समाचार
x