समाज

बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर

इकागज |
जेठ ३२, २०८१ शुक्रबार २१:१४ बजे

रौतहट- रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन विरोध स्वरूप स्थानीय युवाहरूले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर विरोध जनाएका छन् ।

कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोशित युवाहरूको समूहले शुक्रबार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर विरोध जनाएका हुन् ।


नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाइमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरूले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समूह, स्थानीय व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरू लगायत सर्वपक्षीय आकस्मिक बैठक बसेका थिए ।

बैठकमा मेयर जैसवालले प्राविधिक कारणबस पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गल्ती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीयबीच दुई बुँदे मौखिक सहमति भएको छ । बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमति भएको थियो । 

सहमति लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिबद्धता जनाएका थिए ।


Author

थप समाचार
x