समाज

अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्‍चालन नहुँदा समस्या

इकागज |
असार २, २०८१ आइतबार २०:२ बजे

रौतहट- सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादतीपूर्ण व्यवहार गर्ने गरेको रौतहटस्थित सीमावासीले गुनासो गरेका छन् । 

विवाह, चाडपर्व लगायत विभिन्न धार्मिक अनुष्ठानका लागि समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।


बौधीमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमा स्तम्भ ३५५/७ नजिकै आँपको बगैँचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा आयोजित 'सीमावासीसँग सशस्त्र प्रहरी' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडा संगै सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको प्रमुख आतिथ्य तथा बौधीमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवको विशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बिउविजन, मलखाद ल्याउँदा एसएसबीले विभिन्न कारण देखाएर गर्ने हैरानीप्रति सहभागीहरूले ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको १० वर्षे सशस्त्र द्वन्द्वको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमास्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानीय व्यापारीदेखि सर्वसाधारण सीमावासीले सास्ती खेप्नुपरेको हुँदा सञ्चालनका लागि सहभागीहरूले पहल गरिदिन आग्रह गरेका थिए ।

त्यस्तै हाल बर्सात तथा मनसुनको समय आउनै लागेकाले हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरणबारे स्थानीयहरूले प्रश्न उठाएका थिए । 

 सीमासँग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने गरेको विभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमाक्षेत्रमा आवतजावत गर्न वारपार हुने सवारीसाधनको व्यवस्थापनका लागि माग गरेका थिए । केही कुपात्रहरूले सामाजिक सञ्जालमा सीमा क्षेत्रमा अवैध गतिविधि भइरहेको भनेर भ्रम फैलाउने गरेकाले त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने सीमावासीले माग गरेका थिए ।

सीमावासीले राखेको विभिन्न समस्याहरूको समाधानबारे मेयर प्रदीपकुमार यादव र सीमाको महत्व सुरक्षाबारे उठेको प्रश्नको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जवाफ दिएका थिए । 

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधीमाई र परोहा नगरपालिकाका स्थानीय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरी बल रौतहटका एसपी हुमागाईंको सक्रियतामा रौतहटमा सीमावासीको समस्या उजागर संगै समाधान गर्ने पटकपटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् ।


Author

थप समाचार
x