भारतीय प्रहरीको 'मस्टवान्टेड' सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ
रौतहट- भारतीय प्रहरीको मस्टवान्टेडको सूचीमा रहेका एक जना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० बर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधरामस्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई ८ का वर्ष २४ का अरबिन्दकुमार दासले १७ लाख झोलामा राखी राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा चढी मौलापुर तर्फ गइरहेका थिए ।
सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्दकुमार दासलाई पछाडिबाट गोली हानी भागी फरार भएका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा घटनामा संग्लन अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरूसँग साँठगाँठ रहेको निष्कर्ष निकालेको थियो ।
उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान, गोली राउण्ड २ थान समेत भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
जैसवालमाथि हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आरोपी भारतीय नागरिक मोनु जैसवाल भारतीय प्रहरीले मस्टवान्टेडको सूचीमा रहेका छन् । उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जनभन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका एसपी कान्तेशकुमार मिश्रले बताएका छन् । आरोपी जैसवालमाथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार , लुटपाट, अपहरण, अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ ।
गत मार्च महिनामा जैसवाल अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एक जना जवानमाथि आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ ।
जैसवाल केही समयअघि जेल जीवन समेत बिताइसकेका भारतीय प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया