समाज

कुलेखानीमा नौ लाखभन्दा बढी माछाका भुरा छोडिए

इकागज |
असार ४, २०८१ मंगलबार २१:४५ बजे

फाइल तस्बिर

हेटौँडा- मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशयमा पाँच जातका नौ लाख २५ हजार माछाका भुरा छोडिएका छन् । 

प्राकृतिक जलाशय मत्स्‍य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडा र मत्स्य विकास केन्द्र कुलेखानीको आयोजनामा इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २५ हजार माछाको भुरा छाडिएका हुन् । 


मत्स्य विकास केन्द्र कुलेखानीले आठ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले एकलाख २५ हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडिएको मत्स्य विकास केन्द्र कुलेखानीका निमित्त प्रमुख निता पौडेलले जानकारी दिइन् । उनका अनुसार सिल्भर दुई लाख, विगहेड कार्प दुई लाख, कपन कार्प एक लाख, रहु तथा नैनी एक लाख २५ हजार, रुबु दुई लाख र ग्रास कार्प जातका एक लाख भुरा छाडिएका छन् ।

त्यसैगरी संरक्षण केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवले केन्द्रका तर्फबाट रिजरभ्वायरमा छोडिएका भुरा आफ्नै केन्द्रमा उत्पादन गरिएका बताए । उनले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछाका भुरा नदी तथा जलाशयमा छोड्ने गरिएका बताए । केन्द्रले यसअघि बागमती नदीमा रहू तथा नैनी प्रजातिका एकलाख २५ हजार माछाका भुरा छोडेको थियो । 

मत्स्य विकास केन्द्र, कुलेखानीले अघिल्लो आवमा १० लाख माछाको भुरा छाडेको निमित्त प्रमुख पौडेलले जानकारी दिइन् । उनका अनुसार केन्द्रले चालु आवको जेठ मसान्तसम्म दुई हजार ६६ किलोग्राम (केजी) माछा उत्पादन तथा बिक्रीबाट रु पाँच लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७९/८० मा दुई हजार पाँच सय १० केजी माछा उत्पादन गरेको कार्यालयले यस वर्ष अझै उत्पादन बढ्ने विश्वास लिएको छ ।


Author

थप समाचार
x