Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

ललितपुर महानगरले कक्षा चार र पाँचमा 'नेपाल भाषा' लागू गर्दै

इकागज |
असार ५, २०८१ बुधबार १५:३५ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले अगामी शैक्षिक सत्र  कक्षा ४ र ५ मा समेत स्थानीय पाठ्यक्रम नेपाल भाषा कार्यान्वयनमा ल्याउने भएको छ । परम्परागत, ऐतिहासिक, सम्पदा, संस्कृति तथा रहन सहनलाई समावेश गरी उक्त पाठयक्रम ल्याउने भएको हो ।

बुधबार ललितपुर महानगरपालिकाको पाँचौ नगरसभामा मेयर चिरिबाबु महर्जनले नेपाल भाषा अध्यापन गराउन विद्यालयमा कार्यरत जनशक्तिहरूलाई परिचालन गरिने जानकारी दिए ।


त्यसैगरी, नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा विद्यालयको आवश्यकताका आधारमा विषयगत शिक्षक व्यवस्थापन गरिने उनले बताए ।

नागरिकलाई नैतिकवान, स्वावलम्बी एवम् असल समाज र चरित्र निर्माण गर्न महानगरपालिका क्षेत्र भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नैतिक तथा संस्कारयुक्त शिक्षाको पठनपाठन गरी कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष जोड दिइने उनले उल्लेख गरे ।

ललितपुर महानगरपालिकाद्वारा प्रकाशित सडक सुरक्षा शिक्षा पुस्तकलाई सन्दर्भ सामग्रीका रुपमा निरन्तरता दिइने मेयर महर्जनले बताए । विद्यालय स्तरमा खेलकुद, स्काउटका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले प्रस्ट पारे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

सामुदायिक विद्यालयलाई दिदैं आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी खर्चलाई मापदण्डका आधारमा व्यवस्थित गरिने महर्जनको भनाइ छ ।

सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरूलाई वडा कार्यालयहरूसँग समन्वय गरी साक्षरताको सर्वेक्षण लगायत अनौपचारिक तथा निरन्तर शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । साथै सामुदायिक अध्ययन केन्द्रहरूको संस्थागत सुदृढीकरण गर्दै लगिने उनले सुनाए ।


Author

थप समाचार
x