समाज

देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह

इकागज |
असार ५, २०८१ बुधबार २१:१२ बजे

काठमाडौँ - मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।
    
राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकनपश्चात् उनले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताए ।

उनले भने, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।”


सेफ साहले देशको भौतिक पूर्वाधार, आर्थिक समृद्धिका विविध आयामलाई समेटिएको प्रदर्शनीको प्रशंसा गर्नुभयो । “मलाई एकदमै खुसी लागेको छ, यो प्रदर्शनीका ज्ञानवद्र्धक कुराले । यदि म नआएको भए धेरैकुरा जान्ने अवसर गुम्ने रहेछ ”, उनले भने, “अरु नेपालीजस्तै म सोच्दथे देश विकास भएकै छैन तर राससको तस्बिर अवलोकन गरेपछि थाहा भयो कि देशमा धेरै कुरा भएका रहेछन् ।”

उनले आगामी दिनमा देशविकास र आर्थिक समृद्धिका अझ धेरै विषयवस्तु समेटेर राससले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताए । “नेपालमा केही प्रगति भइरहेको छ भन्ने कुरा यी तस्बिरले बोलिरहेका छन् । सबै नेपाली सकारात्मक बनेर देश विकासमा लाग्न आवश्यक छ । सकारात्मक सोच र पहलकदमी भए लाग्छ तर पक्कै देश बन्ने छ”, उनको भनाइ थियो ।  

सेफ साहलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएका थिए । 


Author

थप समाचार
x