समाज

सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने

इकागज |
असार ५, २०८१ बुधबार २१:४६ बजे

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले सूचनाको अधिकार पनि मानव अधिकारकै अङ्ग भएको र यो हक संविधानमा मौलिक हकका रुपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताए । 


अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासंघका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन महासंघका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो ।

प्रहरी वृत्त बौद्धले सोमबार महासंघ जिल्ला कार्य समिति काठमाडौँका सदस्य अश्मिता खत्री, महासंघ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेमप्रसाद श्रेष्ठलाई सूचना माग गरेकै कारण पक्राउ गरेको थियो ।
 


Author

थप समाचार
x