समाज

४ किलो ५०४ ग्राम कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ

इकागज |
असार ६, २०८१ बिहीबार १८:२ बजे

काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना नागरिकलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुबईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।


उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगी थप ७७ वटा कोनिका क्याप्सुलहरू बरामद गरिएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौँ आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई विमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौँको एक होटलबाट कोकिनका ९२ क्याप्सुलसहित पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरू नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । बरामद गरिएका लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु १५ करोड ७६ लाख हुन आउने बताइएको छ । 


Author

थप समाचार
x