गीत–संगीतमा कयौं ‘वर्ल्ड रेकर्ड’ बनाएका कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्याय
काठमाडौं - कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनाल बहुप्रतिभाका धनी छन् । उनका सिर्जना नेपालमा मात्रै होइन विश्वको कुना–कुनासम्म पुगेका छन् ।
गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वर्ल्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमा उनले विभिन्न कीर्तिमान बनाएका छन् । उनले गीत, संगीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व कीर्तिमान कायम राख्न सफल भएका हुन् ।
गीत, संगीत र साहित्य सिर्जनामा यति धेरै विश्व रेकर्ड कायम राख्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्र खनाल पर्साको वीरगञ्जमा सन् १९६२ मा जन्मिए धर्मराज उपाध्याय आज डा. डीआर उपाध्यायका नामले चर्चित छन् ।
उनको प्रारम्भिक शिक्षा त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि काठमाडौं आएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरेपश्चात् भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गरेका छन् ।
गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘मझधार’सहित स्रोह उपन्यास कृति सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् ।
सानै उमेरदेखि जिज्ञासु उनमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने स्वभाव थियो ।
कलिलो उमेरदेखि नै उनमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो । विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउने गरेको उनी स्मरण गर्छन् । सबैबाट प्रशंसा र हौसला पाएपछि उनको मनमा अझ उत्साह भरिन्थ्यो ।
धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैँमा विशिष्ट र मौलिक हुनुपर्ने उनको भनाइ छ । त्यसैले उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहेका छन् ।
‘आनन्दको खोजीमा मानिस दशतिर भौतारिरहेको छ । तर, आफूभित्रै रहेको सुखको अनन्त स्रोतलाई उपयोग गर्नेहरूले स–साना कुराहरूबाटै खुसी लिन सक्छन्,’ उनी भन्छन्, ‘दुःखको सामना गरेपछि नै सुखको वास्तविक मूल्यबोध हुनेगर्छ । कला सिर्जना जन्माउन पनि ठूलो अभ्यास र कठोर तपस्या जरुरी छ ।’
उपाध्यायको जीवनले गरेका संघर्षका किस्साहरू पनि बेहिसाब छन् । संघर्षका सयौँ पहाड छिचोलेर मिलेको उचाइ र सफलताले अपार खुसीको तहमा पुर्याएको उनी बताउँछन् । उनका सिर्जना जति प्रेरक र मिठासपूर्ण छन् उनको व्यक्तित्व पनि त्यत्तिकै शालीन र सौम्य छ ।
उनले नेपाली कला साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विभिन्न सार्थक प्रयास गरेका छन् । उनबाट रचित दर्जनौं गीतहरूले विश्व कीर्तिमान् राख्न सफल भएका छन् ।
सानैदेखि आम मानिसका पीर व्यथा र आँसुमा आफू पनि अंशियार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचीकर लाग्छ ।
उनका रचनामा सामाजिक तस्वीरलाई सजीव रूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरमा दैनिक पत्रिकाहरूमा नियमितजसो प्रकाशित भइरहेका छन् । लेखनको केन्द्र विन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भन्ने उनको मान्यता छ ।
उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभुतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकांक्षा, अभिभूत, अभिलाषा, आवृत’ लगायतका ३६ वटा एल्बम स्रोता/दर्शकमाझ छन् ।
यस्तै सबैभन्दा सानो गीतको पुस्तक (२ वाई २ इन्च)को गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४/३६ इञ्जको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ ।
उपाध्यायले नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, साङ्केतिक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको, ५० अन्तर्राष्ट्रिय भाषामा गीत, एकैदिन धेरै राष्ट्रिय पत्रिकामा लेख प्रकाशन, विश्वको हाइ अलटिच्युटमा गीतको लाइभ प्रस्तुतिजस्ता विषयबाट डा. उपाध्यायले वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।
यस्तै उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गर्दै रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत–संगीत तयार गरेर, क देखि ज्ञ सम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमानी बनाएका छन् ।
यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, आफ्ना २०० जति गीत हट एयर बेलुनमा उडाएर, १५० भन्दा बढी गीत चेसबोडमा लेखेर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत लेखी रेकर्ड गराएर विश्व रेकर्ड कायम गरेका छन् ।
उनले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएका छन् ।
‘यो रेकर्ड मैले आफ्नो लागि मात्र नभई नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउनका लागि पनि गरेको हुँ,’ उनी भन्छन् ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।
नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–सङ्गीतका अवार्डमा पनि उनका प्रायजसो गीत पुरस्कृत हुन सफल छन् । यस्तै उनलाई मुम्बईको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्डबाट पनि विभूषित गरिएको थियो ।
‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु,’ उनी भन्छन्, ‘स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द लाग्छ ।’
उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि साथ दिएकी छन् । ‘श्रीमतीसँगै छोरा अङ्कित, बुहारी श्लेशा र छोरी ईशाको सहयोगले पनि मेरो यात्रा थप उत्साहित बनेको छ,’ उनी भन्छन् ।
डीआर म्युजिक एन्ड क्रियशनमार्फत् उनले आफ्ना गीतहरू स्रोता/दर्शकमाझ ल्याउने गरेका छन् ।
डा. उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । सरल भाषा शैली, अलंकार, विम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर रचना बन्ने उनको भनाइ छ ।
‘ती विचारहरू न रुढी ग्रस्त परम्परागत चिन्तनले गाँजेका हुन्छन् न त आधुनिकतामा चुकेका हुन्छन्,’ उनी भन्छन् । नयाँ नयाँ क्रिएसनमा आफूलाई तल्लीन राख्ने डा. उपाध्यायको यस क्षेत्रमा अझ कीर्तिमानका इटा थप्ने योजना छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया