समाज

पत्रकार महासंघको निर्वाचन असार २२ गते

इकागज |
असार ७, २०८१ शुक्रबार २१:१४ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार २२ गते हुने तय भएको छ ।

महासंघले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सोबारे जानकारी गराएको हो । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।


यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथि दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा.चिरञ्जीवी खनालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ ।

 


Author

थप समाचार
x