हात्तीको दुईवटा दारासहित ठोरीबाट ३ जना पक्राउ
वीरगन्ज- पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुई वटा दारासहित तीन जना मानिसलाई पक्राउ गरेको छ । स्थानीय ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्रामभन्दा बढी तौल भएको दुई वटा हात्तीको दारा बरामद गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिनमुनि राखिएको अवस्थामा उक्त दुई वटा दारा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिएका छन् ।
हात्तीको दारा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरूप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।
डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया