समाज

पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सूचीसहितको प्रतिवेदन हस्तान्तरण

इकागज |
असार ९, २०८१ आइतबार १८:३१ बजे

महोत्तरी- पर्यटकिय गन्तव्यको खोजीमा जुटेको बर्दिवास उद्योग वाणिज्य संघले प्रदेश र स्थानीय सरकारलाई प्रतिवेदन पेस गरेको छ । स्थलगत पदयात्राका क्रममा नगर क्षेत्रमा पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको सूचीसहित आज प्रतिवेदन पेस गरेको हो ।

उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्काको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा धार्मिक, पुरातात्त्विक र पर्यटकिय हिसाबले आकर्षित गर्न सक्ने ३२ ठाउँ समावेश गरिएको छ । प्राकृतिक रूपमा भेटिएका गिद्धका बासस्थानदेखि जर्मन नागरिक गुड्रन कार्विन्सले पत्ता लगाएको मध्यपाषण कालको हतियार कारखानालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।


पुसदेखि सुरु भएको यो अवधिमा गुड्रन कार्विन्सले पत्ता लगाएको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र बनाउने गृहकार्य सुरु भएको छ । उद्योग वाणिज्य संघको नेतृत्वमा पदयात्रीहरूको एउटा समूह संघीय सरकारको पर्यटन मन्त्रालय र प्रदेश सरकारमा पुगेर पुरातात्त्विक पर्यटन केन्द्रको रूपमा विकास गर्न ध्यानाकर्षण समेत गराइएको थियो । 

परिणामस्वरूप संघ सरकारले ८० लाख र प्रदेश सरकारले ४५ लाख गरी १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै धार्मिक पर्यटनका हिसाबले उर्वर मानिएको बर्दिवासलाई प्राचीन मन्दिर र गुम्बाहरूको विषयमा अध्ययन गरी प्रतिवेदनमा गुरुयोजनाको मार्गचित्र समेत बनाइएको छ ।

प्रतिवेदनको अर्को छायाँ कपि भने होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमलाई हस्तान्तरण गरिएको थियो ।


Author

थप समाचार
x