समाज

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

इकागज |
असार ६, २०७८ आइतबार १५:२५ बजे

फाइल फाेटाे

बैतडी : छुट्टाछुट्टै दुई ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।  

धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक  सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिए । पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि  सडक अवरुद्ध भएको थियो ।  


अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिए । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो । रासस   
 


Author

थप समाचार
x