एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता
चितवन- चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरूविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका-२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका-३ सुन्दर बस्ती बस्ने ३३ वर्षीय बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका-८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परीयार, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल-११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् ।
बाग्लुङको जैमिनी नगरपालिका-७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका-१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका-९ घर भई हाल बुटवल-४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार गत वैशाख २८ गते भरतपुर-९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा निजहरू पक्राउ परेका थिए । सो क्रममा मुद्दा दायर भएकाहरूमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खागजस्तो वस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा निजहरूलाई पक्राउ गरिएको उनको भनाइ छ ।
तिवारीका अनुसार प्रतिवादीहरूमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । निजले रु ५० हजार जरिवाना तिरेर छ वर्ष अघि छुटेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया