समाज

डोटी बडिकेदारकी निरुताले पाइन् कृत्रिम खुट्टा

इकागज |
असार १०, २०८१ सोमबार २१:७ बजे

काठमाडौँ- डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृत्रिम खुट्टा पाएकी छिन् । केही वर्ष पहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन् । 

'रुखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृत्रिम खुट्टा सहयोग गरेको हो,' निरुताका श्रीमान् मोहन थापाले भने । 


कृत्रिम खुट्टा पाएपछि हिँड्डुल गर्न सहज भएको निरुता थापाले बताइन् । सांसद आलेले कृत्रिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गरेको उनको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । 

आज खुट्टा पाएपछि निरुता तथा उनको परिवारका सदस्य खुसी भएका छन् । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृत्रिम अङ्ग कार्यशाला’ले कृत्रिमा खुट्टा प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x