समाज

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

इकागज |
असार १०, २०८१ सोमबार २२:२ बजे

फाइल तस्बिर

काठमाडौँ- यस वर्षको मनसुन प्रणली आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ । 

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो । साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ ।

मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रूपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।


Author

थप समाचार
x