समाज

जब बहालवाला हवल्दार 'सीबीआईबाट आएको हुँ' भन्दै डाँका गर्न पुगे…

इकागज |
असार ११, २०८१ मंगलबार १४:५१ बजे

काठमाडौँ- भक्तपुर सूर्यविनायकको एक घरमा डाँका गरी रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन् ।


घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कृष्णबहादुर बोहरा बहालवाला हवल्दार हुन् । उनी महाराजगञ्ज गणमा कार्यरत छन् ।

असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका-४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीबीआईबाट आएको भन्दै डरधम्की देखाएर धनमाल लुटेको उनले जानकारी दिए ।

'डिल्लीबहादुर राउतको घरमा ठूलो परिमाणमा नगद रहेको कुलबहादुर खत्रीलाई जानकारी हुन्छ,' उनले भने, 'कुलबहादुरले वैदेशिक रोजगारीमा चिनजान भएका सुजन रसाइलीलाई राउतको घरमा नगद भएको बताउँछन् । सोही अनुसार उनीहरूले लुट्ने योजना बनाएका हुन्छन् ।'

असार ३ गते मामा कुलबहादुरले रसाइलीलाई बोलाएर भान्जाको घर निगरानी गर्न लगाएको थिए । त्यसको भोलिपल्ट लाइभ बर्गर एण्ड पिज्जामा भेटघाट र भक्तपुरको कौशलटारस्थित घरमा ११ बजे लुटपाट गरेका थिए ।

उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड रुपैयाँ लुटेर लगेको उनको भनाइ छ । लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सबैभन्दा बढी रकम योजनाकारले लगेको उनले बताए । प्रहरी हवल्दारले ३० लाख लगे भने अन्यले २०-२० लाख रुपैयाँ लगेका थिए ।

सुजन यसअघि २०७६ सालमा पहेँलो धातु देखाई सुन भन्दै ठगी गरेको र सिन्धुपाल्चोकमा कुटपिट तथा झैझगडा मुद्दामा कारबाही भोगेका व्यक्ति हुन् ।

उनीहरूको साथबाट घटनामा प्रयोग भएको २ वटा मोटरसाइकल, १० थान मोबाइल, पैसा बोकेको झोला, खुकुरी, ३६ लाख ३६ हजार नगदलगायतका सामान पनि बरामद भएको छ ।

 


Author

थप समाचार
x