समाज

डुबानमा विराटनगर

इकागज |
असार १२, २०८१ बुधबार १२:४१ बजे

काठमाडौँ- वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाको वडा नम्बर ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ ।

एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो । वडा नम्बर १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा पुन:स्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रूत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए ।


उनले अहिले विभिन्न ठाउँमा पानी निकास खुलाउने कार्य भईरहेको बताए । मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधबार बिहान ८ बजेर ४५ मिनेटसम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ ।

विराटनगर एयरपोर्टस्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यस वर्षको मनुसनको सबैभन्दा बढी पानी परेको हो । वर्षाका कारण कास्की, लमजुङ, ओखलढुङ्गालगायतका स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको छ । 


Author

थप समाचार
x