समाज

चक्रपथ विस्तारको बाँकी काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा

इकागज |
असार १५, २०८१ शनिबार १४:५९ बजे

काठमाडौँ- चक्रपथ विस्तारको बाँकी काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ ।

शनिबार कांग्रेसका सांसद प्रदीप पौडेलको नेतृत्वमा रिङरोड विस्तारका लागि काठमाडौँमा दबाब यात्रा आयोजना गरिएको हो । सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको नेता पौडेलले बताए । सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको उनले बताए ।


दबाब यात्राका क्रममा सडक नजिक रहेका व्यवसायीहरू र स्थानीयसँग नेता पौडेलले अन्तरक्रिया गरेका थिए । कलंकीदेखि चावहिलसम्मको १३ किलोमिटर सडक सन २०२० सम्म पूरा गर्नुपर्ने भए पनि विभिन्न बहानामा अल्झाउने काम भएको नेता पौडेलले बताए । उनले चक्रपथ विस्तारको कामलाई सरकारले गम्भीर रूपमा नलिएको खण्डमा सरकारी गाडीलाई चल्ने अवस्था आउने चेतावनी दिए ।

नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङसँग पनि छलफल गरेको जानकारी दिए । नेता पौडेलले चक्रपथ विस्तारको दवावका लागि कुनै राजनीतिक स्वार्थ नरहेको धारणा राखे । 


Author

थप समाचार
x